काँग्रेस राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध जुनसुकै कदम चाल्न तयार,अन्य दलसँग पनि छलफल गर्ने निर्णय

Spread the love

काठमाडौं, जेठ ७ (ई-रैवार)

नेपाली काँग्रेस बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध जुनसुकै कदम पनि चाल्न सकिने निर्णय गरेको छ। प्रमुख विपक्षी नेपाली कांग्रेसको शुक्रबार बसेको बैठकले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको मर्म र भावनालाई बारम्बर कुल्चिएको निष्कर्ष निकाल्दै राष्ट्रपति र प्रधानमन्त्रीका विरुद्ध जुनसुकै कदम पनि चाल्न सकिने निर्णय गरेको हो ।

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको कदमलाइ अलोकतान्त्रिक, असंबैधानिक र संविधानको मर्म र भावना बिपरित भएको ठहर गरेको छ। संसदमा विश्वासका मत नलिने भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले राजीनामा नदिई संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नु पनि संविधानको मर्म र भावना विपरीत भएको कांग्रेसको ठहर छ ।

नेपाली काँग्रेसले राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट एकपछि अर्को गैरसंवैधानिक कार्य भएको भन्दै काँग्रेसले यस्तो निष्कर्ष निकालेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले सरकारको असंवैधानिक कदमविरुद्ध एकजुट भएर लाग्नुपर्ने भन्दै यसबारे अन्य दलसँग पनि छलफल गरिने बैठकमा ब्रिफिङ गरेका थिए ।

संविधानको मर्म र भावनालाई कुल्चने प्रवृत्तिलाई रोक्न सबै दलसँग छलफल गर्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । बैठकपछि सहमहामन्त्री डा. महतले भने, ‘यो प्रवत्तिलाई रोक्न सबै विकल्पमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौं ।’

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने अवस्था नभएपछि उहाँले राजीनामा दिनुपर्थ्यो । राजीनामा दिएपछि ७६ (५) को प्रक्रिया अघि बढाएर यथेष्ठ समय दिएर राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्थ्यो । निरन्तर रुपमा संविधानको मर्म र भावनालाई कुल्चने काम प्रधानमन्त्रीबाट भएको र त्यसमा राष्ट्रपतिले पनि साथ दिइरहेको कांग्रेसको निष्कर्ष छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ७६ (५) को सरकार गठनको आह्वान गरेकी थिइन् । अब अन्य दलहरुसँग पनि छलफल गरेर रणनीति तय गर्ने नेता डा. महतले बताए । लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण विकल्पमा छलफल गरेर निष्कर्षमा पुग्ने उनले बताए ।