कैलालीमा नेपाली कांग्रेसको पालिका अधिवेशन आज, कहाँ को भिड्दै छन् ?

Spread the love

धनगढी कार्तिक ३० (ई-रैवार)

कैलाली जिल्लामा नेपाली कांग्रेसको पालिका स्तरिय अधिवेशन आज हुँदैछ । कैलाली जिल्लामा रहेका १३ वटै स्थानीय तहमा कांग्रेसको पालिका अधिवेशन आज हुन लागेको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार हुने पालिका अधिवेशनमा नेतृत्व चयनका लागि चुनाव हुने देखिएको छ। पालिका अधिवेशनका लागि धनगढी उपमहानगरपालिका, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिकामा उम्मेदवारी घोषणा भएको छ ।

सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरिसकेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उपाध्यायले धनगढी उपमहानगरको सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी दिएका हुन् ।

नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्। यस्तै उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वारले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन्।

गोदावरी नगरपालिकामा पनि दुई वटा प्यानल नगर कार्यसमितिका लागि चुनाबी मैदानमा छन्। वडाहरुमा आफ्नो बलियो उपस्थिती जनाएको पूर्वजिल्ला सभापति दीर्घराज भाटको टिम र डा. लक्ष्मीराज पाठकको टिम प्यानलसहित चुनाबी मैदानमा उत्रिने तयारीमा रहेका हुन्। भाटका पक्षवाट नगरसभापतिमा विरबहादुर चोखाल र डा. पाठक पक्षवाट बिष्णु बडैलाको टिम प्यानलसहित चुनाबी मैदानमा रहेको छ।

गौरीगगा नगरपालिकामा पहलबिक्रम चन्द र मोहन साउद, लम्कीचुहामा इन्द्र कुंवर र भक्तबहादुर चलाउनेको टिम, घोडाघोडी नगरपालिकामा कालिराम चौधरी, बर्दगोरिया गाउँपालिकामा मोहनसिंह राठौरले उम्मेदवारी घोषणा गरेको जनाइएको छ ।

कैलालीमा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएसंगै पालिका र क्षेत्रीय अधिवेशनका लागि दौडधुप बढेको हो । नेपाली काङ्ग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार विभिन्न पालिकामा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको बताएका छन्।

कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ ।