ढल्छ कि जोगिन्छ प्रदेश १ को सरकार ?: मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

Spread the love

धनगढी कार्तिक ३०(ई-रैवार): प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्। मंगलबार बस्ने प्रदेशसभा बैठकमा उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
यसअघि आइतबार उनले प्रदेश सभा नियमावली अनुसार सदनबाट विश्वासको मत लिन चाहेको सूचना संसद् सचिवालयमा दर्ता गराएका थिए।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा समाजवादीका अलावा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन् ।
विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ। भागवण्डा मिलाउन मन्त्रालय फुटाउने तयारीमा सत्ता गठबन्धन लागेको छ। ‘विश्वासको मत लिएर मात्रै सरकार विस्तार गर्ने योजना छ,’ मुख्यमन्त्री राजेन्द्र राईले एकीकृत समाजवादीको बैठकमा शनिबार भनेका थिए ‘मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए। त्यसैले मन्त्रालय फुटाउने तयारी छ।’
पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन्। ९३ सदस्य रहेको प्रदेशसभामा हाल कायम संख्या ९२ छ। गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन्।
मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन्। एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ। त्यसैले सत्ता गठबन्धनले सजिलै विश्वासको मत आर्जन गर्ने अवस्था छ।
सोमबार पाँच दलले आफ्ना सबै सांसद भेला गरेर मंगलबारको प्रदेशसभा बैठकमा हुने विश्वासको मत दिने कार्यक्रममा अनिवार्य उपस्थित हुन निर्देशन दिइसकेका छन्।