कांग्रेस महाधिवेशन उद्घाटन हुनु तिनदिन पूर्व नै मनोनयन दर्ता गर्नुपर्ने

Spread the love

काठमाण्डौँ कार्तिक २९(ई-रैवार): नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा तिनदिन पहिले नै उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ।
यही मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन गर्ने कार्यक्रम छ।
महाधिवेशन मंसिर २४ मा उद्घाटन गर्ने भए पनि त्यसको तीनदिन पहिले नै उम्मेदवारी दर्ता गर्ने कार्यक्रम निर्वाचन समितिले तय गरेको छ ।
मंसिर २१ गते उम्मेदवारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्ने छैन।
कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ।
कांग्रेसले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन गरेर एक कोषाध्यक्ष मनोनित गर्नेछ।
१६८ केन्द्रीय सदस्यमध्ये ३३ जनाबाहेक अरू चुनावबाट नै आउने व्यवस्था छ। पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूले मंसिर २१ मै मनोनयन दर्ता गर्नुपर्छ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार मंसिर २१ मा मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। केन्द्रीय निर्वाचन समितिले बनाएको यो कार्यतालिका आइतबार बूढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको छ।
‘मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुन्छ। मंसिर २४ मा महाधिवेशन उद्घाटन गर्नुभन्दा पहिले २१ गते नै उम्मेदवारी मनोनयन दर्ता हुन्छ,’ शर्माले भने।
कांग्रेसले यसपालिदेखि नीति र नेतृत्व महाधिवेशन फरकफरक गर्ने भएको छ। मंसिरमा हुने महाधिवेशन नेतृत्वका लागि केन्द्रित रहनेछ।
केन्द्रीय सदस्य गगन थापाले पनि मंसिर २१ मा मनोनयन दर्ता र मंसिर २४ मा महाधिवेशन उद्घाटनपछि मतदानमा जाने बताए।
‘मंसिर २१ गते मनोनयन दर्ता हुन्छ। २४ गते पार्टी महाधिवशेन उद्घाटन हुन्छ र २५ गते सिधै मतदान हुन्छ,’ थापाले भने, ‘हामी नीति, कार्यक्रम केही पेश गर्दैनौं।’