काठमाडौँ, वैशाख १९ (ई-रैवार)
मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभर मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ ।
महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ ।
आज दिउँसो पनि पहाडी भू-भागका केही स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यो क्रम मंगलबारसम्म कायम रहने महाशाखाले जनाएको छ ।
वागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मंगलबारसम्म नै साँझपख मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको पूर्वानुमान यस्तो छ
बैशाख १९ गते (आइतबार)
दिउँसो: देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहनेछ। वाग्मती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।
बैशाख २० गते (सोमबार)
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ।
बैशाख २१ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति : देशभर आंशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायतका अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा मध्यम वर्षाको समेत सम्भावना छ ।


