माओवादी अध्यक्ष प्रचण्डले भने- ‘सत्ता गठबन्धन भत्काउन ठूलो कसरत भैरहेको छ’

Spread the love

काठमाडौं, साउन ९ (ई–रैवार)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन कसरत भैरहेको बताएका छन् । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन भत्काउन कसरत भैरहेको बताएका हुन ।

कम्युनिस्ट नेता कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ।’

प्रचण्डले  एमालेभित्रै ‘आममाफी’ घोषणालाई पनि त्यो कसरतभित्र देख्न सकिने बताए। ‘एमालेभित्र फर्माम घोषणा भएको छ, कहाँ प्वाल छ भनेर प्रतिक्रियावादीहरूले टर्च बालेर हेरिरहेका छन्,’ दाहालले भने, ‘एमसिसी, आइटिएसले पो झगडा पारिदेला कि भनेर अनेक किसिमका कसरत भइरहेका छन्।’

प्रचण्डले अहिले पनि सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको उल्लेख गरे । केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताए  ।

स्मृति दिवसमा बोल्दै अध्यक्ष प्रचण्डले आफूलाई पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन भन्दै दबाब आएको बताएका छन् । उनले भने-‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ ।’

प्रचण्डले भने–‘ तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।’

उनले अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गरे । सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी गरेको पनि अध्यक्ष प्रचण्डले बताए ।

सोही अबसरमा नेता प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई महाराजाधिराज भनेकोमा माधव नेपाललाई धन्यवाद समेत दिएका छन् । उनले ओली प्रतिगमनको नाइके भएको र आफूलाई राजा महाराजा ठान्ने अवस्थामा पुगेको बताए ।

ओलीले माधव नेपाल सहितलाई आम माफी घोषणा गरेकोमा नेता नेपालले निकै राम्रोसँग व्यङ्ग्य गरेको भन्दै धन्यवाद दिएका हुन । उनले भने–‘माधवजीले हिजो महाराजाधिराजले हामीलाई आम माफी दिइबक्सेछ अब हामी खुसीले नाच्ने हो कि भनेर कस्तो मिठोसँग व्यङ्ग्य गर्नुभएछ । उहाँले सटिक व्यङ्ग्य गर्नुभयो, मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

गत साउन ३ गते प्रतिनिधि सभामा शेरबहादुर देउवालाई नेता नेपालसँगै एमालेका २२ सांसदले विश्वासको मत दिएपछि ओली पक्षले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नदिँदै ओलीले आममाफीको घोषणा गरेका थिए ।

प्रचण्डले आज बिहान मात्रै माधव नेपालसँग भेटवार्ता गरेको बताउँदै ५ दलीय गठबन्धन आजका दिनसम्म कायमै रहेको जानकारी गराएका छन् ।