कांग्रेस सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई अपिल

कांग्रेस सभापति देउवाद्वारा अन्तर्राष्ट्रिय निकायलाई अपिल
Spread the love

काठमाडौं, जेठ १ (ई-रैवार) 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड—१९ को संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय निकायलाई आवश्यक सहयोगका लागि अपिल गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले मुलुकभर कोभिड—१९ को संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गरेका हुन ।

देउवाले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसीयू शय्या र खोपलगायतका औषधिको व्यवस्था गर्न माग गरेका छन् ।

सभापति देउवाले आज वक्तव्यमार्फत कोभिड–१९ को संक्रमण तीव्र भई देशभरका अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर सहितका आइसीयू शय्या र औषधिको अभाव भएको उल्लेख गर्दै सरकार यस विषयमा गम्भीर र जिम्मेवार नदेखिएको आरोप लगाए ।

उनले देशमा व्याप्त यस विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै देशभरिका कांग्रेस सदस्य तथा शुभेच्छुकहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न अपिलसमेत गरे ।