आफू पक्षीय नेतालाई पौडलले भने- कि त तपाईंहरू मिलेर साझा उम्मेदवार दिनुहोस्, हैन भने मलाई छाड्नुहोस्

Spread the love

काठमाडौं, कात्तिक २६ (ई-रैवार)

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले आफ्नो समूहबाट साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् । आफू निकट नेताहरूसँग आज गौशालास्थित अनुपम फुडल्यान्डमा भएको छलफलमा उनले आकांक्षीहरू मिल्न नसके आफू नै सर्वमान्य सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारे ।

बैठकमा सहभागी एक नेताकाअनुसार नेता पौडेलले अन्य आकांक्षीहरू मिल्न नसकेकाले समूहमा समस्या पैदा भएको पनि उनले उल्लेख गरे । “कि त तपाईंहरू मिलेर साझा उम्मेदवार दिनुहोस्, हैन भने मलाई छाड्नुहोस्,” पौडेललाई उद्धृत गर्दै ती नेताले भने ।

बैठकमा सहभागी केही नेताहरूले सर्वसम्मत बन्ने भएमात्र पौडेललाई उम्मेदवार बन्न सुझाव दिएका थिए । “सर्वसम्मत बने तपाईं उम्मेदवार बन्नुहोस्, नभए आकांक्षीमध्ये एक जनालाई सर्वसम्मत बनाउनुहोस् भनेर रामचन्द्र दाइलाई हामीले भन्यौँ,” ती नेताले भने ।

जवाफमा पौडेलले सभापतिका आकांक्षी चार जनालाई राखेर युवा नेताहरूले समाधान खोज्नुपर्ने भनेका थिए । “केही दिनभित्रै चारजनालाई राखेर तपाईं युवा नेताहरूले सर्वसम्मत उम्मेदवार खोज्नुहोस्, चाँडो गर्नुहोस्,” बैठकमा पौडेललले भनेका थिए ।

च्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहेका कांग्रेस वरिष्ठ नेता पौडेलले आफू पक्षीय नेताहरूको भेलामा प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि उठिरहेका प्रश्नबारे राजनीतिक दलहरूसँग समितिले छलफल गर्ने जानकारी दिएका थिए ।

‘प्रधानन्यायाधीशबारे अहिले उठेका प्रश्नमा दलहरू मौन बस्न मिल्दैन, मौनता तोड्नुपर्छ’ पौडेलको भनाई उद्धृत गर्दै नेता अर्जृुनरसिंह केसीले भने । बैठकमा पौडेलले यस्तो जानकारी दिएपछि उनी पक्षीय भेलाले न्यायालयको विषयबारे धारणा बनाएर जानुपर्ने निष्कर्ष निकालेको केसीले जानकारी दिए । पौडेल पक्षका धेरै नेताहरूले यसअघि देखि नै न्यायालयको संकटबारे मौन बस्न नहुने बताउँदै आएका थिए ।

बैठकमा १४औँ महाधिवेशनमा सभापतिका आकांक्षीहरू पौडेलसहित डा। शशांक कोइराला र शेखर कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, अर्जृुनरसिंह केसी, गगन थापा लगायतको उपस्थिति थियो । आजको बैठकमा सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह भने अनुपस्थित थिए ।