जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले बिदा हुँदैछु : ओली

Spread the love

काठमाडौं, असार २९ (ई–रैवार)

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सर्वोच्च अदालतले जारी गरेको आदेशका कारण सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सिंहदरबार छाड्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले जनताको जनादेशले नभई सर्वोच्चको परमादेशले सरकारको जिम्मेवारीबाट बिदा लिइरहेको बताए। ओलीले राज्यका अंगको निश्पक्षतामा समेत प्रश्न उठाएका छन् ।

मुलुकको सार्वभौम सत्ता र राजकीय सत्ता जनतामा निहित रहनु लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण भएको पनि ओलीले बताए । सर्वोच्च अदालतको पछिल्लो फैसला गलत भएको उनले टिप्पणीसमेत गरेका छन् ।

उनले भने,‘जनादेशका लागि जनतामा जाने व्यवस्थालाई निरंकुश र कानुनको अपव्याख्यामाथि आधिरित भएर एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने बनाउने कुरालाई लोकतान्त्रिक भनेर गरिने परिभाषालाई गलत दिशातिर धकेल्न सक्छ भन्नेमा हामी गम्भीर र चिन्तित छौं ।’

ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्ने बताए । सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको कसीमा परीक्षण हुने भन्दै उनले फैसला पालना गर्ने बताएका हुन् । सर्वोच्चको प्रयुक्त कतिपय भाषाशैली लोकतन्त्रमा विश्वास राख्नेप्रति चिन्तित बनाउने खालको रहेको ओलीले बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ  नियुक्त गर्ने आदेश गरेको बताए । ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो ? गजब छ’, उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो, प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’

यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो, यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम गर्‍यो । विकासको पक्षमा काम गर्‍यो । जनतालाई राहत सुविधा पुर्‍याउने, अधिकार सम्पन्न बनाउने कुरामा काम गर्‍यो । यी दिशामा धेरै काम गर्‍यो । अरू त कुनै कारण छैन। ’ उनले भने ।

ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताए ।  आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे । उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे ।

आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । सरकारमा नरहे पनि आफूले निरन्तर देश र जनताको पक्षमा काम गरिरहने पनि ओलीले बताए । सरकारबाट बाहिरिँदा आफूलाई कुनै चिन्ता नरहेको ओलीले बताएका छन् ।

आफूले पदमा रहँदा इमानदारीका साथ काम गरेको दाबी पनि ओलीले गरे । ‘सरकारबाट बाहिरिनु परेकामा चिन्ता छैन । इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको छु । विकासका निम्ति नयाँ भिजन दिएर अगाडि बढाएको छु,’ ओलीले भने ।

आफ्नो कार्यकालमा मुलुकमा चौतर्फी विकास भएको ओलीले दाबी गरे । ‘जनताले राहत महसुस गरेको छ । त्यसकारण म बिदाइप्रति खुसी छु । ढुक्क छु । चिन्ता छैन ।’