एमालेले सत्ता बहिर्गमन अघि नै ब्युँताइयो युथ फोर्स, दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङगरी ओलीलाई बालकोट पुर्‍याउने

Spread the love

काठमाडौं, असार २९ (ई–रैवार)

नेकपा एमालेले आफ्नो भ्रातृ संगठनको रूपमा युथ फोर्सलाई ब्युँताएको छ। सत्ता बहिर्गमनअघि नै युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो।

दलीय व्यवस्थालाई मास्ने षडयन्त्र भएको तथा न्यायपालिकाले चलखेल गरेको भन्दै युथफोर्स ब्युँताइएको बताइएको छ । युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन्।

एमाले युवा संघका इञ्चार्ज महेश बस्नेत नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बताए। एमाले सांसदसमेत रहेका बस्नेतले युथ फोर्सले देशभर कम्तिमा ५० हजार युवालाई परिचालन गर्ने बताए ।

युथ फोर्स गठन कार्यक्रममा सम्बोधन गर्दै एमाले सांसद बस्नेतले डलरको भरमा अदालतले फैसला गरेको आरोप लगाए । उनले ७ महिनामा पुनः एमाले सिंहदरबारमा प्रवेश गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म स्कर्टिङ गर्ने कार्यक्रम छ। दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोट पुर्‍याउने कार्यक्रम रहेको बस्नेतले बताए। उनले कौशलटारदेखि बालकोटसम्म जनताले स्वागत गर्ने कार्यक्रम रहेको पनि बताए।

अहिले एमालेलाई बौद्धिक अराजकतावादी तथा विपक्षी गठबन्धनका नाममा घेराबन्दी गरिएको छ, त्यसको प्रतिरोध युथ फोर्सले गर्नेछ। उनले भने ‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने।

एमालेको अग्रपंक्तिमा रहेका नेतालाई सुरक्षा दिँदै युथ फोर्सले पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका खेल्ने बस्नेतले बताए। ‘पार्टीका कार्यक्रमका साथै महाविपत्तिमा राहत तथा उद्धारका कार्यक्रममा युथ फोर्स सहभागी हुनेछ,’ उनले भने, ‘सभा, सम्मेलन, गोष्ठीबाट एमालेविरोधी गतिविधिको खण्डन गर्नेछ।’

युथ फोर्स तत्कालीन अध्यक्ष झलनाथ खनालको पालामा गठन गरिएको थियो। माओवादीको वाइसिएलका नाममा गतिविधि बढेपछि एमालेले त्यसलाई काउन्टर दिन युथ फोर्स गठन गरेको थियो।