काठमाडौं, असार २९ (ई–रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा देउवालाई नियुक्त गरेकी हुन ।
राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्।
तर नियुक्ती आधिकारिक विज्ञप्ति भने बाहिर आइसकेको छैन् । राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले नियुक्ती भइसकेको संचारमाध्यमहरुलाई बताएका छन् । आज मंगलबार साँझ ६ बजे देउवालाई शपथ ग्रहण गराइने कार्यक्रम छ ।
‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत: सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले भने।
योसँगै देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका छन् । देउवा २०५२ भदौमा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ मा दोस्रो पटक, २०६१ मा तेस्रो पटक र संविधान जारी भएपछि २०७४ मा चौथो पटक प्रधानमन्त्री भएका थिए ।
संभवत नेपालको इतिहासमा पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बनेका हुन् । सर्वोच्च अदालतले सोमबार देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो।


