कांग्रेस प्रदेश २ अधिवेशन : सभापतिमा दुई जनाको उमेदवारी

Spread the love

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । कांग्रेस प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका हुन् ।

कृष्णा यादव भने सभापति शेरबहादुर देउवाको समूहबाट उम्मेदवार बनेका छन् । उनी रौतहटका हुन् । उनलाई जिताउन गृहमन्त्री बालकृष्ण खांड हिजैदेखि जनकपुरमा सक्रिय छन् ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका रामसरोज यादवलाई बिमलेन्द्र निधी र शेखर कोइराला समूहको समर्थन रहेको छ । यद्यपि रामसरोजले कुन गुटबाट रहेको खुलाएका छैनन् । सञ्चारकर्मीको जिज्ञासामा उनले आफूले कांग्रेसबाट उमेदवारी दिएको बताए ।

कांग्रेस महाधिवेशन अन्तर्गत बुधबार प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । प्रदेशमा उपसभापति, महामन्त्री एक महिलासहित ३ सहमहामन्त्री पदमा निर्वाचन हुनेछ ।

मनोनयन दर्ताका लागि प्रदेश निर्वाचन समितिले सभापति पद्को उम्मेदवारलाई १५ हजार, उपसभापति, महामन्त्री, सहमहामन्त्री लागि १० हजार र सदस्य पदका लागि ५ हजार उमेदवारी दर्ता शुल्क तोकेको छ ।

त्यस्तै, मनोनयनपत्र माथि पर्ने दावी विरोधको समय साढे ४ देखि ५ बजेसम्म, दाबी विरोध उपर निर्णय दिने समय साढे ५ देखि ६ बजेसम्म र वर्णानुक्रम अनुसार उमेदवारहरूको नामावली प्रकाशन गर्ने समय साँझ ७ बजे तोकिएको छ । 

दर्ता भएको मनोनयन पत्र फिर्ता लिने समय साँझ ७ देखि ८ बजेसम्मका लागि तोकिएको छ भने अन्तिम नामावली प्रकाशन राति १० बजे गरिने निर्वाचन अधिकृत प्रह्लाद गौतमले जानकारी दिए । मतदान बुधबार बिहान ८ देखि मध्याह्न ४ बजेसम्म हुने गौतमले बताए ।

यसअघि कांग्रेसले ६ प्रदेशको महाधिवेशन सम्पन्न गरिसकेको छ । यसअघि अन्य ६ प्रदेशमा देउवा सिटौला समूहको समीकरण बनेको थियो ।जसमा गण्डकी र लुम्बिनीबाहेक अन्य प्रदेशहरूमा देउवा समूहको वर्चस्व छ । 

केन्द्रमा भने पहिलो चरणमा चार समूह भिडेका थिए । दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहले पनि शेरबहादुर देउवालाई सभापतिमा सहयोग गरेका थिए । शेखर कोइराला भने एक्लै चुनाव लडेका थिए ।