एमाले बैठक बालुवाटारमा शुरु : माधव पक्ष गएन, वामदेव र पूर्व माओवादी नेताहरु सहभागी

Spread the love

काठमडौं, असार १८ (ई–रैवार)

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो ।

एमाले बरिष्ठ नेता माधव नेपाल पक्षको अनुपस्थितिबीच नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका छन् । पूर्व माओवादी नेताहरु पनि बैठकमा सहभागी भएका छन् ।

१६ गते आयोजक कमिटी भंग गरी २०७५ जेठ ३ को केन्द्रीय कमिटीमाथि माओवादी केन्द्र परित्याग गरी आएका रामबहादुर थापा बादलसहित २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ ।

नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर उनीहरु निस्किएका छन् । माधव समूहले यो बैठक रोक्न आग्रह गरेको थियो ।

विहीबार साँझ पनि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षका दोस्रो तहका नेताबीच भएको छलफलमा नेपाल पक्षले केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको थियो । तर, आजको बैठक स्थगित गरिएन ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नाम विवादमा नेकपा खारेजी गरि एमाले र माओवादी केन्द्र ब्युँत्याइ दिएपछि दोस्रो पटक केन्द्रीय कमिटी बैठक बसेको हो ।