सुदूरपश्चिम प्रदेशमा शनिबार ४९० जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

Spread the love

धनगढी, जेठ १५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा शनिबार थप ४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ७ वटा प्रयोगशालामा पीसीआर बिधिबाट १ हजार ५८ नमुना र ४ वटा सीमानाकामा ऐन्टिजेन विधिबाट ५४८ नमूना परीक्षण गर्दा ४९० जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५६२ जनाको नमूना परीक्षण गर्दा १९९ जना, महाकाली अस्पतालमा २६ नमूना परीक्षण गर्दा १९ जना, डडेल्धुरा अस्पतालमा १९५ नमूना परीक्षण गर्दा ५० जना, जिल्ला अस्पताल बैतडीमा ९७ नमूना परीक्षण गर्दा १७ जना, डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १८ जना, बझाङ अस्पतालमा ८५ जनाको नमूना परीक्षण गर्दा ३१ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३६ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट २ लाख २३ हजार ३५ नमूना परीक्षण गर्दा ३८ हजार ८६३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। हालसम्म प्रदेशभर संक्रमण पुष्टि भएका २२ हजार ८५१ जनाले कोरोना जितेका छन् ।

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले कैलालीका १ जना, कञ्चनपुरका ३ जना, डोटी, अछाम र दार्चुलाका १/१ जनागरी ७ जनाको मृत्यु भएको जनाएको छ । कोरोना संक्रमणबाट प्रदेशभर हालसम्म ४८७ जनाको मृत्यु भएको छ।