काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै आपत्तिजनक भएको बताएका हुन् ।
संयुक्त विज्ञप्तिमा नेपाली भूमिमा सडक विस्तार गर्ने काम तत्काल रोक्न भारत सरकारलाई आग्रह गरेका छन् । महामन्त्रीद्वयले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले विज्ञप्ति जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचका सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्नेगरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण गरिएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’
विज्ञप्तिमा लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्नेमा कांग्रेस स्पष्ट रहेको, यो भूगोलमा नेपालको भोगाधिकार कायम रहनुपर्ने, कालापानीबाट भारतीय सेना हट्नुपर्ने, दुई देशबीचको सीमासम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासक तथ्यका आधारमा हुनुपर्ने र सन् १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा पनि कांग्रेस स्पष्ट रहेको उल्लेख गरिएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’
भारतले नेपाली भूमिमा सडक विस्तार गरिरहँदा सरकारले भने अझै केही बोलेको छैन । तर सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन/विश्वप्रकाशले संयुक्त विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् ।



