सभामुख सापकोटाले पूर्वसभामुखको बैठक बोलाए, नेम्वाङ सहभागी नहुने

सभामुख सापकोटाले पूर्वसभामुखको बैठक बोलाए, नेम्वाङ सहभागी नहुने
Spread the love

काठमाडौं, जेठ ११ (ई-रैवार)

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखको बैठक बोलाएका छन् । सभामुख सापकोटाले संघीय संसद सचिवालयमा दिउँसो १ बजे पूर्वसभामुखको बैठक बोलाएका हुन ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको जानकारी दिएका छन् ।

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा सभामुखको भूमिकाका विषयमा छलफल गर्न सभामुख सापकोटाले आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरुलाई नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले बताएका छन् ।

२०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् । छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।

नेम्वाङ सहभागी नहुने 

पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङ भने बैठकमा नजाने भएका छन् । उनले ढिला गरी खबर आएको र आफ्नो अर्कै कार्यसूची बनिसकेकाले आजको बैठकमा सहभागी नहुने बताए ।

“बैठकबारे ढिला गरी सूचना आयो, मेरो अर्कै कार्यसूची बनिसकेकाले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको छु,” नेम्वाङले भने, “मैले अर्को दिन तपाईँसँग छुट्टै बसौँला भनेर सभामुखलाई भनेको छु ।”

सभामुख सापकोटा र नेम्वाङका बीच सुमधुर सम्बन्ध छैन । नेम्वाङलाई प्रधानमन्त्रीको कदममा मतियारको भूमिकामा काम गरेको आरोप लाग्दै आएको छ भने सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध सुमधुर हुन नसकेको विषय प्रधानमन्त्रीले भाषणमा नै बताउँदै आएका छन्

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेता एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गरेका थिए ।

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।