काठमाडौं: नेपालमा कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन आयोजना गर्दै दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जनाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको जनाएको छ । दक्षिण अफ्रिकी मुलुकबाट मसिंर ३ गते नेपाल भित्रिएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
नेपालमा ओमिक्रोन देखिएसँगै संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डहरूको पालना गर्न र सरकारको खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरिएको छ ।
ओमिक्रोन नेपालमा फैलिएका अरू भेरियन्टजस्तै हो ?
नेपालमा कोभिड–१९ का दुईवटा लहरमा मुख्यतस् तीनवटा भेरियन्ट देखिए । त्यसमध्ये सबैभन्दा डेल्टा भेरियन्टले बढी असर गरेको थियो । डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रामक र घातक देखिएको थियो ।
नेपालमा आज ओमिक्रोन पुष्टि हुनुअघिसम्म डेल्टाले नै बढी प्रभाव पारिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाले बताइन् । ओमिक्रोन कति घातक भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पनि अनुसन्धान गरिरहेकै छ । विभिन्न विश्वविद्यालय र सरोकारवालाहरूले पनि यसबारे अध्ययन गरिरहेका छन् ।
ओमिक्रोनको उद्गमस्थल दक्षिण अफ्रिकी मुलुकका चिकित्सकहरूले ओमिक्रोनको असर डेल्टा भेरियन्टभन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् ।


