काठमाडौं, वैशाख १ (ई-रैवार)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन सबै पक्षलाई आह्वान गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई नयाँ सरकार निर्माणका लागि एकजुट हुन आह्वान गरेका हुन ।
नयाँ वर्ष २०७८ को अवसरमा जारी गरिएको शुभकामना सन्देश दिदै अध्यक्ष प्रचण्डले प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको एकतालाई विभाजन गरिएको भन्दै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि समेत अपील पनि गरेका छन् ।
शुभकामना सन्देशमा प्रचण्डले लेखेका छन्, ‘कम्युनिष्ट पार्टी बीचको एकतालाई प्रतिगामी प्रतिक्रियावादीहरुले षडयन्त्रमूलक ढंगले विभाजन गरे । प्रतिगामी प्रतिक्रियावादीको त्यस प्रकारको षडयन्त्रलाई निस्तेज गर्न कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी वाम ऐक्यवद्धताका लागि हार्दिक अपील गर्दछु ।’



