काठमाडौं, वैशाख १ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन ।
प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउन लागेका छन । नयाँ वर्ष २०७८ का अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई सरकारका तर्फबाट सम्मान गर्ने कार्यक्रम तय भएको बताएका छन ।
तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वकालमा लडाकु रहेका र हालसम्म राज्यले उचित सम्मान र सम्बोधन नगरेका र अन्य पीडितलाई सम्मान गर्न लागिएको प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गदै बताएका हुन ।
नयाँ वर्षको अवसरमा बुधबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “कोभिड महामारी भए पनि, केही राजनीतिक अस्वस्थता देखा परे पनि वर्ष २०७७ पनि निरर्थक वर्ष रहेन, उपलब्धीको वर्ष रह्यो । चिरपरिक्षित मेलम्चीको पानी काठमाडौंका धाराधारमा पुर्याएर सफल भएका छौं । अनेका कामहरु पूरा गरेका छौं ।
प्रतिकुल परिस्थितिका बीचमा पनि २०७७ लाई निर्थक हुन नदिएको उनले दाबी गरेका छन् । उनले भने, “कोभिड महामारीका बीच शिक्षालयहरु बन्द भए पनि अनलाइन कक्षाहरु सुरु गर्यौं । मुलुकलाई सामान्य अवस्थामा फर्काउने काम भयो । फेरि ०७७ सालको पीडा त्यही रुपमा दोहोरिन नपाओस् भनेर हामीले सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्छ ।”
कोभिड-१९ कसैका लागि चिनिएको विषय नभएको उल्लेख गर्दै उनले भने, “केही अनुभव र धेरै अनुमानका आधारमा चल्नुपर्थ्यो । त्यसका बाबजुद हामीले नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य भएकोले हामी जनताको जीवन बचाउन लागिपर्यौं । मानिसको जीवन बचाउन सकियो भने शिक्षालय चल्नेछन्, उद्योग कलकारखाना चल्नेछन् भनेर लकडाउन गरेका हौं । लकडाउनले जीवन जोगाउन ठूलो भूमिका खेल्यो ।”
उनले भने, “केहीले आजै लकडाउन हुन्छ, भोलि नै लकडाउन हुन्छ भन्दै हल्ला फैलाइएको पाइन्छ । सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन । तर, कतिपय विकसित भनिएका देशहरु महामारी फैलिएपछि लकडाउन गर्न बाध्य छन् ।” उनले सतर्कताको विधिबाट कोरोनालाई फैलिन नदिन र परिस्थितिलाई त्यहाँ नपुर्याउन आग्रह गरेका छन् ।
उनले भने, “उनले सर्तकताको विधिबाट कोरोना नियन्त्रण आउन नसकेको अवस्थामा लकडाउनमा जान सक्छ भनेको छ । कसैले यसलाई धम्की दियो भने । म धम्की दिने हैसियतामा छैन र उचित ठान्दिन । परिस्थिति बिग्रियो भने त्यहाँ पनि पुग्न सक्छ भनेको हुँ । हामी सतर्क बनेर अगाडि जानु आवश्यक छ ।”
केही भएन भनेर जनतामा निराशा बढाउने काम भएको भन्दै उनले आफ्नो नेतृत्वको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए । ‘हामीले समयलाई प्रतिकूलताका बीच पनि खेर जान दिएका छैनौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।


