काठमाडौँ, फागुन २८ (ई-रैवार)
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएका केन्द्रीय सदस्यमा पूर्व माओवादी नेताहरु र प्रदेश अध्यक्ष तथा सचिवहरुलाई जिम्मेवारी दिएका छन्।
अध्यक्ष ओलीले बालुवाटारमा शुक्रबार बसेको आफु पक्षीय केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गरेका पूर्व माओवादी नेताहरु र प्रदेश अध्यक्ष तथा सचिव जिम्मेवारी दिएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा बादलसहित २३ जना पूर्व माओवादी नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
ओली पक्षको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका पूर्व माओवादीहरुमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द थापा, गौरीशंकर थारु, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, झपट बोहरा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरिएको हो ।
त्यस्तै ओली पक्षीय केन्द्रीय कमिटी बैठकबाट सातवटा प्रदेशका अध्यक्ष परिवर्तन गरेका छन् । नवनियुक्त अध्यक्ष-सचिवमा एकजना पनि झलनाथ-माधव पक्षका छैनन् ।
एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार प्रदेश १ को अध्यक्ष देवराज घिमिरे, सचिवमा विनोद ढकाल, प्रदेश २ को अध्यक्षमा प्रभु साह, सचिवमा सुमन प्याकुरेल छन् ।वाग्मती प्रदेशको अध्यक्षमा आनन्द पोखरेल, सचिव खेम लोहनी, गण्डकीको अध्यक्षमा जगत विश्वकर्मा सचिवमा गोविन्द नेपाली छन् ।
त्यस्तै लुम्बिनीको अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह चयन भएका छन् भने सचिवमा धर्मराज रेग्मी चयन गरिएको छ । सुदूरपश्चिमा कर्ण थापा र सचिवमा कञ्चनपुरका राजेन्द्रसिंह रावललाई चयन गरिएको छ ।


