काठमाडौँ, फागुन २८ (ई-रैवार)
नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भएको छ । पछिल्लो राजनीतिक संकटको निकास र नयाँ सरकार गठनका विषयमा शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच छलफल भएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबारको बैठकमा अबको राष्ट्रिय राजनीतिक निकासको नेतृत्व कांग्रेसले गर्नुपर्ने जसपा नेताहरुको धारणा रहेको बताएका छन् । छलफलमा जसपा नेताहरुले कांग्रेसलाई माओवादी केन्द्रसहित मिलाएर प्रधानमन्त्री ओलीको विकल्पको नेतृत्व गर्न आग्रह गरेका छन् ।
प्रवक्ता शर्माले भने, “आज नै हामी ठोसरुपमा कुनै टुंगोमा पुगेका छौं भन्ने बेला भएको छैन । अबको राष्ट्रिय राजनीतिको अग्रसरता प्रमुख प्रतिपक्षी दलले लिनुपर्छ । राष्ट्रिय राजनीतिलाई निकासमा पुर्याउनुपर्छ । यसका लागि नेकपा माओवादी केन्द्र, जसपा र कांग्रेस एक ठाउँमा उभिनुपर्छ भन्ने धारणा उहाँहरुबाट आयो ।”
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले मुलरुपमा जसपाका नेताहरुको उपस्थितिमा अहिलेको सन्दर्भमा राष्ट्रिय रुपमा साझा धारणा हुनुपर्ने अभिमत प्रकट भएको बताएका छन् ।
उनले शुक्रबारको बैठक ठोसरुपमा कुनै टुंगोमा नपुगेकोसमेत बताएका छन् । जसपाका नेताहरुले कांग्रेसको अग्रसरताको खोजी गरेकोसमेत प्रवक्ता शर्माले बताए ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल भएको बताएका छन्।
कांग्रेस सभापति देउवाको निवासमा आज अपरान्ह बसेको दुई पार्टीबीचका नेताहरूको बैठकपछि ठाकुरले आज केही सहमति नभएको पनि बताए। ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ। हामी माओवादी केन्द्रसँग पनि छलफल गर्छौं,’ ठाकुरले पत्रकारहरूसँग भने।
यसअघि बसेको कांग्रेस पदाधिकारी बैठकले पनि खुला रुपमा संवाद गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस प्रवक्ता शर्माले बताएका छन् । उनले भने, “आजै बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सरकारको सन्दर्भमा साझा धारणा बनाएर उचित निष्कर्ष र विकल्पमा पुग्नुपर्ने भन्ने निष्कर्ष निकालिएको छ ।”
छलफलबाट डेडलकलाई उपयुक्त गन्तव्यमा पुर्याउन कांग्रेसले सरकारको विकल्पको अग्रसरता लिनुपर्छ भन्ने देखिएकोसमेत बताएका छन् ।
उनले यसअघि पुस ५ गते प्रतिनिधि सभा विघटनपछि कांग्रेसको नेतृत्वमा साझा धारणा बनाएर अघि बढ्दा सफल भएको र अहिले पनि त्यसको दोस्रो खण्डको प्रारम्भ भएको बताएका छन् । उनले भने, “अब माओवादी केन्द्रसँगको छलफलपछि र कांग्रेसको आन्तरिक छलफलपछि सम्भवत: एक-दुई दिनमा हामी साझा धारणा बनाएर अघि बढ्छौं ।”


