काठमाडौँ, फागुन २८ (ई-रैवार)
नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले निर्णय गरेको छ । अध्यक्ष केपी ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता नेपाल र खनाल समूहले विधानविपरित भएको साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले निष्कर्ष निकालेको हो ।
अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूहको आकस्मिक बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको छ ।
‘शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि विपरितको बैठक हो’, बैठकपछि नेता रघुजी पन्तले भने, ‘यसलाई मानिदैन।’ पन्तले ओलीले आफूलाई इच्छा लागेका मान्छेलाई भेला गरेर निर्णय गर्दा त्यसलाई केन्द्रीय कमिटी मान्न नसक्ने बताए।
‘यो पर्टीलाई विभाजन गर्ने काम हो। विधान विपरित छलफल भएको छ। यो सम्पूर्ण कुरा विधि विधान विपरित छ’, उनले प्रश्न गर्दै भने, ‘आफूलाई इच्छा लागेका मान्छे भेला गरेर भएका निर्णयलाई कसरी केन्द्रीय कमिटीका निर्णय मान्ने ?’
शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । ‘ जहाँ हाम्रो नेतृत्व छैन, त्यहाँ नेतृत्व चयन हुनेछ’ उनले भने, ‘यो पार्टी पुनर्संरचनाको अभियान हो ।’ यस विषयमा थप छलफलका लागि केन्द्रीय कमिटी र सांसदहरुको छलफल राखिएको भुसालले जानकारी दिए । समानान्तर कमिटीको घोषणा भने चैत ४ गते गर्ने तयारी छ । ‘हाम्रो राष्ट्रिय भेला चैत ४ गते हुनेछ, त्यस दिन पार्टी पुनर्संरचनाको अभियान घोषणा हुनेछ’ भुसालले भने ।
ओलीले पार्टीलाई बिसर्जनतिर लगेकाले समानान्तर संरचना तयार पार्न लागेको यो समूहको भनाइ छ । शुक्रबार बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उलंघन गरेको आरोप नेता भीम रावलले लगाएका छन्। ‘यसले पार्टी अधिवेशनको नीति निर्देशन उलंघन गरेको छ’, रावलले भने।
सुरुमा नेकपा फुटाउने षड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोचले काम गरेको देखिएको आरोपसमेत रावलले लगाए।
‘गुट भेला गरेर एमाले र माओवादी केन्द्रबीचको एकतालाई षड्यन्त्रपूर्वक समाप्त गरियो। त्यसपछि एमाले पार्टीलाई फुटाउने सोचले यो काम गरेको देखिन्छ’, रावलले भने, ‘विधान विपरितको कामको विरोध गर्छौँ र अस्वीकार गछौँ।
पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा गम्भीर समीक्षा भएको रावलको भनाइ छ। उनले एमाले पार्टीका संस्थापक नेताको अपमान गरेर ओलीले कम्युनिस्ट आन्दोलनलाई धरासायी बनाएको आरोपसमेत लगाएका छन्।
रावलले गृहमन्त्री रामबहादुर थापा बादल लगायतप्रति लक्षित गर्दै पदका लागि ६-७ वटा चाहरेकाहरुलाई पार्टीमा स्वागत गरेर पार्टीका शीर्ष नेताहरुलाई अपमान गरेको बताए । त्यसले कम्युनिस्ट आन्दोलनलाई धराशायी बनाएको भन्दै त्यसको निन्दा पनि गर्नुपर्ने उनले बताए ।


