काठमाडौं, आश्विन १ (ई-रैवार)
राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बिहीबार अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ ग्रहरण गराएका हुन् ।
सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गरे । राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने भन्दै उनले भने, ‘राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम गर्ने छैन ।’
यसअघि बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष गौतमलाई भदौ १८ मा बसेको नेकपा सचिवालय बैठकले ०७६ फागुन १४ को निर्णय कार्यान्वयन गर्ने जनाएको थियो ।
फागुन १४ मा गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाले निर्णय गरेको थियो । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।


