नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ भोलि बिहान साढे ११ बजे

नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ भोलि बिहान साढे ११ बजे
Spread the love

काठमाडौं, असोज २८ (ई-रैवार)  

नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान साढे ११ बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए । प्रधानमन्त्री ओलीले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ,  काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा  जेष्ठ नागरिक मन्त्री  नियुक्त गरेका हुन् ।

नवनियुक्त तीन मन्त्रीले भोलि बिहान ११ बजे शितलनिवासमा सपथ लिने भएका हुन् ।  प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् ।

त्यस्तै  यसअघि महिला तथा बालबालिका मन्त्रालय सम्हालिरहेका पार्वत गुरूङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको थियो ।

यो सँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानत: मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन । अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ ।