काठमाडौँ, वैशाख २७ (ई-रैवार)
नेकपा(एमाल) नेपाल–खनाल निकट सांसदहरुको बैठक सुरु भएको छ । नेपाल–खनाल पक्षको सिंहदरबारमा सुरु भएको बैठकमा २१ सांसदको उपस्थिति रहेको छ ।
बैठकमा सहभागी हुने सांसदहरु अधिकांश प्रत्यक्ष छन् भने केही समानुपातिक सांसद पनि छन् । बैठकबाट सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् भने एमाले एकता सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।
सिंहदरबारमा भेला हुन पुगेका सांसदहरुले अब पार्टी एक हुन नसक्ने निष्कर्ष निकालेका छन् । बैठकमा सहभागी हुँदै गर्दा एमाले सांसद झपट रावलले पत्रकारहरुसँग कुरा गर्दै अब पार्टी सकिने अवस्थामा पुगेको बताए ।
“हामी सबै पार्टी एकताको लागि प्रयत्नमा थियौँ । केपी ओलीबाट पार्टी एकताका लागि पहल भएन । एकताभन्दा भाँड्ने काम भयो । कम्युनिष्ट पार्टीलाई छिन्नभिन्न पार्ने काम भएकाले अब दुखका साथ भन्नुपर्छ सबै प्रयास असफल भए । अब सकियो ।”
बिहान साढे नौ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो । आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका उनीहरुले यसको बारेमा थप छलफल गर्नको लागि बैठक बस्न लागेका हुन् ।
हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।


