धनगढी, आश्विन २ (ई-रैवार)
सञ्चारगृहमा प्रवेश गरेर पत्रकार माथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीको मूल गेटमा सञ्चार सामाग्री सहित पत्रकारहरुले धर्ना दिईएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले सञ्चार सामाग्री प्रर्दशन र कालो पट्टी बाँधेर प्रशासनको मूल गेटमा धर्ना दिएका हुन ।
धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गरे। उनले आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको दायरामा नल्याए सम्म सडक संघर्ष जारी राखिने बताए।
समाचारको विषयलाई लिएर गत शुक्रवार धनगढीको दिनेश सञ्चारगृहमा प्रवेश गरेर एक समूहले समाचार कक्षमै पत्रकारलाई कुटपिट गर्नुका साथै कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेको थियो ।
आक्रमणमा संलग्नलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै पत्रकार महासंघ कैलालीको अगुवाईमा आन्दोलनका कार्यक्रम जारी राखिएको छ ।


