काठमाडौँ, वैशाख ३१ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल शुरु भएको छ । प्रधानमन्त्री ओलीकै उपस्थितिमा सिंहदरबारमा केहीबेरअघि छलफल सुरु भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी वार्तामा प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपालसँगै ओली पक्षीय नेता सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन् ।
त्यस्तै अर्को पक्षका वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट सहभागी छन् । बिहीबार बूढानीलकण्ठमा ओली र नेपालबीच भएको वार्तामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति भएको थियो ।
बिहीबारको छलफलमा २०७५ जेठ २ गतेमा पार्टीलाई फर्काउन र फागुन २८ गतेको निर्णय फिर्ता लिने विषयमा ओलीले सहमति जनाएको नेता नेपालले बताएका छन् । सोही विषयको कार्यान्वयनका लागि कार्यदल बनाउने कार्यदिशासहित नेताहरु छलफलमा जुटेका हुन् ।
खनाल–नेपाल समूहले जेठ २ गते अघिको कमिटी संरचनामा फर्कनुपर्ने माग राख्दै आएको छ । जसमा २०७५ जेठ २ को स्थायी कमिटी बैठक बसेर सवै विवाद मिलाउने, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै ती विषयको छिनोफानो हुनुपर्ने र त्यो नभए सामूहिक राजीनामा दिने बटमलाइन तय गरेको एक नेताले बताए ।
हामीले निश्चित तीन बटमलाइन बनाएका छौ सोही आधारमा नेताहरुबीच अहिले छलफल भएको छ, माधव पक्षका एक नेताले बताए । ओलीसँगको वार्ताबारे आज नेता नेपालले पहिला स्थायी समिति र पछि केन्द्रीय समितिका आफुपक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।
हिजो नेता नेपाल र ओलीबीच भएको कुराकानीमा ओलीले बजेट ल्याउनुपर्ने भएकाले चाडै विश्वासको मत लिनुपर्ने अवस्था आउने बताएका थिए । सो बुझेर माधव पक्षले विश्वासको मत लिनुअघि नै पार्टीका समस्या सम्बोधन गर्नुपर्ने अडान ओली समक्ष राखेको बुझिएको छ ।


