प्रहरी हिरासतमा मृत फेलापरेका युवकको न्यायको माग गर्दै धनगढीमा प्रदर्शन

प्रहरी हिरासतमा मृत फेलापरेका युवकको न्यायको माग गर्दै धनगढीमा प्रदर्शन
Spread the love

धनगढी, भदौ २८ (ई-रैवार)

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा शुक्रवार मृत फेला परेका धनगढी उपमहानगरपालिका ५ का रोशन विकको हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

कैलालीमा प्रहरी हिरासतमा युवक मृत फेला परेपछि न्यायको माग राख्दै स्थानीय आन्दोलित भएका हुन् । उनीहरूले न्यायको माग राख्दै आइतबार पनि जिल्ला प्रहरी कार्यालय गेट अगाडी विरोध प्रदर्शन गरिरहेका छन् ।

‘प्रहरी तेरो पाराले दुःख पाए साराले, प्रहरी लापरबाही बन्द गर, के ज्यानको मूल्य छैन ?’ लगायतका प्लेकार्ड बोकी स्थानीय आन्दोलित छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत फेला परेका धनगढी उपमहानगरपालिका–५ का रोशन विकको हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।

उनीहरुले रोशनको आत्महत्या नभई प्रहरीको कुटाईबाट ज्यान गएको आरोप लगाउदै आएका छन् । आफूहरुले न्याय नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

चोरीको अभियोगमा यही भदौ २२ गते पक्राउ परेका रोशन विक थुनुवा कक्ष भित्रको शौचालयमा मृत अवस्थामा फेला परेका थिए । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी प्रतीक विष्टले ती युवाले शौचालयभित्र झुन्डिएर आत्महत्या गरेको बताएका थिए ।

तर मृतकका आफ्न्तले भने आत्महत्या नभएर प्रहरीको कुटपिटबाट रोशनको मृत्यु भएको आरोप लगाउदै आएका छन । यता घटनाको छानविन गर्न छानबिन समिति गठन गरिएको छ ।