अन्तत: पत्रकारहरु सडकमा, सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेन 

अन्तत: पत्रकारहरु सडकमा, सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेन 
Spread the love

धनगढी, भदौ २८ (ई-रैवार) 

दिनेश सञ्चार गृह र पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउगरी कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको ३ दिन हुन लाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै नेपाल पत्रकार महासंघले चरबद्ध आन्दोलनको घोषणा गरेको हो ।

धनगढीको पार्क मोडबाट निकालीएको र्‍याली जिल्ला प्रशासनमा आइ कोण सभामा परीणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले सञ्चार गृह र पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गुण्डा शैलीमा भएको आक्रमणको निन्दा गर्दै अपराधिक समूहमा आवद्धलाई अहिलेसम्म पक्राउ गरिएको छैन्, केन्द्रिय सदस्य बमले भने, ‘पत्रकार र सञ्चारमाध्यममाथि भएको आक्रमणप्रति संवेदशिल हुन प्रहरी प्रशासनलाई आग्रह छ।’

नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले कुटपिटमा संलग्नलाई तीन दिनसम्म पक्राउ नगरिएको बताउँदै प्रहरी, प्रशासनको क्षमता र नियतमाथि प्रश्न उठेको बताए। सञ्चार माध्यममाथि भएको आक्रमणको केस अन्तराष्ट्रियकरण भएको बताउँदै उनले पत्रकारहरुको अन्तराष्ट्रिय संघले पनि चाँसो दिएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वारले पत्रकारमाथि कुटपिट र सञ्चारमाध्यममा आक्रमण गर्नेहरुलाई पक्राउ गर्न प्रहरी, प्रशासनले उदासिनता देखाएको बताए। पत्रकारमाथि एकपछि अर्को गर्दै हातपात हुन थालेपछि आक्रमणकारीको उत्साह बढ्न थालेको स्वारले बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्यालले अपराधिक मानसिकता बोकेका गुण्डाहरुले सञ्चार गृहमा आक्रमण गर्दैमा पत्रकारको कलम बन्द नहुने बताए। ‘संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टि भएको छ’ उनले भने, ‘हामी हिजो पनि लोकतन्त्रका लागि लडेका हौ र आज पनि सडकमा छौ। कसैबाट परिचालित व्यक्तिले आक्रमण गर्दैमा हाम्रो कलम बन्द हुँदैन्। हामी अझै सशक्त भएर अगडि बढ्छौं।’

कोण सभालाई नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष दिर्घराज उपाध्याय, भरत शाह, आदीवासी जनजाती पत्रकार महासंघका प्रदेश अध्यक्ष भीम चौधरी, थारु पत्रकार संघका केन्द्रिय उपाध्यक्ष उन्नती चौधरी, नेपाल प्रेस युनियनका कैलाली अध्यक्ष श्रवण देउवाले पनि सम्वोधन गरेका थिए ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले आन्दोलन अन्तर्गत आइतबार पहिलो दिन धनगढीको पार्क मोडबाट जिल्ला प्रशासनसम्म र्‍यालीको आयोजना गरिएको बताए । उनले महासंघको भेलाबाट ३ दिने आन्दोलनका कार्यक्रम घोषणा समेत गरेको जानकारी दिएका छन ।

आज पहिलो दिन र्‍याली र कोण सभा गरेका छौ’ अध्यक्ष साउँदले भने, ‘भोली जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम छ भने मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ। आन्दोलनको तेस्रो दिन प्रदेश सभामा धर्ना दिने कार्यक्रम तय गरेका छौ।’

धनगढीमा आज भएको भेलाले पत्रकार र सञ्चार माध्यममाथि भएको आक्रमणमा संलग्नलाई उन्मुक्ति दिने चलखेल भइरहेको भन्दै सयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ। विज्ञप्तीमा नेपाल पत्रकार महासंघको मिसन टोलीका लागि आग्रह गर्ने र प्रेस स्वतन्त्रताका लागि नागरिक बहस सञ्चालन गर्ने समेत उल्लेख गरिएको छ ।

विज्ञप्तीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बम, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वार, प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रिय सदस्य, जिल्ला दिलबहादुर छत्याल र कैलाली अध्यक्ष जगत साउदले लगायतकाले हस्ताक्षर गरेका छन ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षमै १९ बर्षीय युवकले गरे आत्महत्या शिर्षकको समाचार दिनेश खवरमा प्रकाशन भएको थियो ।

दिनेश खवरमा पुगेका युवाहरुले भने आत्महत्या नभई हत्या भएको भन्दै सञ्चारमाध्यममा आक्रमण गरेका थिए । तर प्रहरीले भने अहिले पनि १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको बताउँदै आएको छ ।

आक्रमणकारीलाई कारवाही गर्न आयोगको निर्देशन 

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले दिनेश सञ्चार गृहमा आक्रमण गर्नेलाई कारवाही गर्न निर्देशन छ ।

दिनेश खबरमा समाचार प्रकाशित भएकै विषयलाई लिएर आक्रमण र कुटपिट गरेको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको छ ।

आइतबार राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावलले प्रेस नोट जारी गर्दै घटनास्थल प्रहरी हिरासत र दिनेश सञ्चार गृहको अनुगमन गरेको जनाएका छन् ।