काठमाडौं, भदौ १७ (ई-रैवार)
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय २० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म २३ हजार २ सय ९० जना डिस्चार्ज भएका छन् ।
देशभरका संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना र होम आइसोलेसनमा ७ हजार ६ सय १५ रहेका छन् । आजसम्म देशभर ६ हजार ७ सय ६७ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १४ जना, प्रदेश १ मा १ जना र प्रदेश ५ मा ३ जना गरी १८ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ७५ जना छन् ।
प्रवक्ता डा. गौतमले ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेको बताएका छन् । सोलुखुम्बु मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।


