काठमाडौं, कात्तिक २५ (ई-रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन्। बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना सङ्कलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सम्पूर्ण देशवासीलाई आग्रह प्रधानमन्त्री देउवाले गरेका हुन् ।
राष्ट्रिय जनगणनाका अवसरमा देशवासीका नाममा सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले भने ,‘देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भका रुपमा रहेको राष्ट्रिय जनगणना २०७८ आजबाट सुरु हुँदैछ । जनगणनाले व्यक्तिको मात्र गणना नगरी देश विकास मार्गचित्र पनि तय गर्दैछ ।’
‘कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म तपाई हाम्रो घरघरमा जनगणना गर्नका लागि गणकहरु आउदै हुनुहुन्छ । तपाईहरुले सही विवरण उपलब्ध गराएर राष्ट्रिको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्न काममा महत्वपूर्ण भूमिका निर्भाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
गणकले सोधेका प्रश्नहरूको सही जवाफ दिन पनि देउवाको आग्रह छ । उनले सूचना गोप्य रहने पनि बताएका छन्। ‘तपाईहरुले दिनु भएको सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहने भएकाले आ आफ्नो घरमा आउने गणकहरुलाई सही विवरण दिन सबैमा अनुरोध गर्दछु ।’ जनगणना तथ्यांक ७५३ स्थानीय तहको ६ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख राखिने देउवाले बताए ।
प्रधानमन्त्री देउवाले यस जनगणनामा पहिलोपटक सामुदायिक प्रश्नावलीमार्फत वडा तहसम्म पुगी देशभरका सबै व्यक्तिको र विदेशमा रहनुभएका नेपालीकोसमेत जनसाङ्ख्यिक, आर्थिक, सामाजिकलगायत परिवारमा उपलब्ध सेवासुविधासम्बन्धी विवरण सङ्कलन हुने उल्लेख गरेका छन् ।
यसबाट प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन् । “विगतमा हामी कुन अवस्थामा थियौँ, अहिले कुन अवस्थामा छौँ र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्दछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ”, उनले सन्देशमा उल्लेख गरेका छन् ।


