म्यानमारको हिंसा तत्काल अन्त्य गर्न सुरक्षा परिषद्को आह्वान

Spread the love

काठमाडौं, कात्तिक २५ (ई-रैवार) 

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा बढिरहेको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल युद्ध अन्त्य गर्न आह्वान गरेको छ । त्यहाँको सेनालाई जतिसक्दो संयम हुन पनि आग्रह गरेको छ ।

बुधबार जारी गरिएको विज्ञप्तिमा सुरक्षा परिषद्का सबै १५ सदस्यहरू नै सहमत भएका थिए । सुरक्षा परिषद्मा विरलै सबै सदस्यको सहमति हुने गर्छ ।

फेब्रुअरीमा सेनाले आङ साङ सुकीको निर्वाचित सरकारलाई ‘कू’ गरी अपदस्त गरेपछि गठन भएका लडाकु समूहहरू सखाप पार्न पश्चिम चीन प्रान्तमा भारी हतियार र फौजहरू तयार पारिएको खबरहरूबीच सुरक्षा परिषद्को विज्ञप्ति आएको हो ।

“सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारमा हालै भएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनीहरूले हिंसा तत्काल बन्द गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन्,” विज्ञप्तिमा भनिएको छ ।

म्यानमारको सेनाले भने सैनिक शासनविरुद्ध प्रतिरोधको अग्रमोर्चामा रहेको अस्थिर चीन प्रान्तको अवस्थाको बारेमा कुनै टिप्पणी गरेको छैन ।

दक्षिणपूर्वी एसियाली मुलुक म्यानमार सैनिक ‘कू’यता शासन सञ्चालन गर्न सेनाले गरिरहेको संघर्ष र यसविरुद्ध लडाकुहरूको सशस्त्र प्रतिरोधका कारण असहाय बनेको छ ।

सुरक्षा परिषद्ले म्यानमारका जनताको चाहना र हितअनुसार संवाद र मेलमिलापमा जोड दिएको छ । यस्तै, मानवीय सहायताका लागि विनाअवरोध पहुँच दिन र मानवीय सहायताकर्मी एवं स्वास्थ्यकर्मीहरूको सुरक्षाको लागि पनि आह्वान गरेको छ । अलजजिराबाट