काठमाडौं, कात्तिक २५ (ई-रैवार)
छठ पर्वअन्तर्गत व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । चार दिन मनाइने छठ पर्व परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर सम्पन्न भएको हो ।
चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ ।
छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिंगारिएको थियो ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । दिनानुदिन छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।


