भौतिक रूपमा नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डको प्रस्ताव

भौतिक रूपमा नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न बोर्डको प्रस्ताव
Spread the love

काठमाडौँ, असार २० (ई–रैवार)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ हो ।

भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिएका छन् ।

बोर्डका अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे ।   केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने उल्लेख गर्दै त्यसका लागि केही दिन लाग्न सक्ने बताए ।

शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्ने निर्णय नगरेकोले परीक्षा सञ्चालनको अनुमतिसम्बन्धी निर्णय पनि सीसीएमसीबाट हुने शर्माले जानकारी दिए ।  यसअघि जेठ २६ गतेबाट हुने गरी तय गरिएको कक्षा १२ को परीक्षा पनि सीसीएमसीले नै रोक्ने निर्णय गरेको थियो ।