प्रधानन्यायाधीश राणाले गरे आफ्नो इजलासबाट पाँच मुद्दामा सुनुवाइ

प्रधानन्यायाधीश राणाले गरे आफ्नो इजलासबाट पाँच मुद्दामा सुनुवाइ
Spread the love

काठमाडौं, कार्तिक १० (ई-रैबार)

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले आफ्नो इजलासबाट पाँच मुद्दाको सुनुवाई गरेका छन् । विवादकाबीच प्रधानन्यायाधीश राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोकेका थिए ।

अरू न्यायाधीश भने राणाबारे धारणा बनाउन छलफलमा जुटेका बेला प्रधानन्यायाधीशले आफ्नो एकल इजलासबाट पाँच मुद्दाको फैसला सुनाएका हुन् ।

प्रधानन्यायाधीश राणाले दुइटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् भने एउटा तामेलीमा राख्ने र एउटामा निवेदन फिर्ता गर्ने फैसला गरेका छन् । त्यस्तै एउटामा भने कैफियत प्रतिवेदन माग्ने आदेश गरेका छन् ।

जसपा लुम्बिनीका निर्वतमान सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्ण घर्तीविरुद्ध अदालतको अवहेलनामा दायर गरेको मुद्दालाई तामेलीमा राखिएको छ ।

ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्मा र साजन सुनारको हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आवद्ध अधिवक्ता नवल किशोर साहले दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ ।

त्यस्तै, एकल इजलासले भुवन कुमार दाहालले मधु कुमारी चौधरीलगायत ३ जनाविरुद्ध दायर गरेको सम्पति शुद्धीकरण निवेदन फिर्ता हुने आदेश दिएको छ ।

यसैगरी, कालोबजार तथा अन्य केही सामाजिक अपराध सम्बन्धी कसूरमा रोशन जैसवालले दायर गरेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको सर्वोच्च अदालतले जनाएको छ।

अरू न्यायाधीश भने इजलास बसेका छैनन्। प्रधानन्यायाधीशबारे  धारणा बनाउन उनीहरू छलफलमा जुटेका छन्।

प्रधानन्यायाधीश राणाले आफूसहित दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भर श्रेष्ठ लगायत पाँच जनाको पूर्ण इजलास तोकेका थिए। तर संवैधानिक इजलास भने अरू न्यायाधीश प्रधानन्यायाधीशबारे धारणा बनाउन छलफल गर्न जुटेकाले बस्न सकेन। उनीहरूले हिजो प्रधानन्यायाधीशको राजीनामा माग गरेका थिए।

मंगलबार न्यायाधीशहरूले प्रधानन्यायाधीश राणासँग छलफल गरेका थिए। उक्त छलफलमा राणाले आफू संवैधानिक प्रक्रियाबाट आएको र त्यही प्रक्रियाबाट जाने बताएका थिए। कसैले सडकबाट माग्दैमा आफूले राजीनामा नदिने राणाको अडान सुनेपछि न्यायाधीशहरूले थप छलफल गरेका थिए।

यसअघि मंगलबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो। राणाले राजीनामा नदिए देशभरि आन्दोलन गर्ने बारले चेतावनी दिएको छ।

न्यायाधीशहरूले उनलाई मार्गप्रशस्त गर्न सुझाए पनि राणाले राजीनामा नगर्ने अडान लिएका थिए। पछिल्लो दुई दिनदेखि राणाले तोकेको इजलासमा नबसेका सर्वोच्चका न्यायाधीशहरू बुधबार पनि इजलास बहिस्कार गरेका छन्।