ओलीलाई प्रधानमन्त्री देउवाले भने- गैरजिम्मेवार कुरा नगर्नोस् !

Spread the love

काठमाडौं, कार्तिक १० (ई-रैबार)

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताएका छन् । नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजना गरेको एक कार्यक्रमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताएका हुन ।

प्रधानमन्त्री देउवाले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे। देउवाले गजेन्द्र हमाल कांग्रेसकै भएको दाबी गरे। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत समेत गराएका छन् ।

“परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैनजस्तो लाग्दछ मलाई । अरू कुरा धेरै केही भन्नु छैन तपाईंहरूलाई । हाम्रो गठबन्धन पाँच पार्टीको जो छ, जे उठेका सवालहरू छन् न्यायालय सम्बन्धमा, सरसल्लाह, छलफल गर्नेछौँ । यसमा धेरै कुरा छैन,” उनले भने, “मैले तपाईंहरूलाई भनेको भन्यै छु, हमाल हाम्रो पार्टीको मान्छे हो । विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए । यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन् । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।”

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता–कार्यकतालाई आह्वान गरे ।