काठमाडौँ,साउन ३ (ई–रैवार)
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । एमाले उपाध्यक्ष गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सो सरह हुने हुदाँ पार्टीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका हुन ।
उपाध्यक्ष गौतमले धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने बताएका हुन् । नेता गौतमले संविधानको धारा ७६ (५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए ।
एमाले नेता गौतमले भने, ‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो । इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन्, जसले इजलासको निर्णयको विरोध गर्छन्, तिनीहरू संविधान मान्ने होइनन् ।’
‘संविधानको धारा ७६(५) को व्याख्या के हो भने संविधान संशोधन नगर्दासम्म त्यसमा ह्वीप लाग्दैन नेता गौतमले अगाडि भने, कुनै पनि संविधान मान्ने पार्टी छ भने त्यो पार्टीले यहाँ ह्वीप लगायो भने गल्ती हुन्छ । संविधान मानेन भन्ने हुन्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।
आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको थियो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताएका छन् ।
सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज विश्वासकाे मत लिंदैछन् ।


