एमाले ओली समूहको निष्कर्ष : देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा रहँदैनन्

Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने बताएका हुन । प्रवक्ता ज्ञवालीले भने, “संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएको देखियो ।”

स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णयको पछाडि आफ्नो पार्टीलाई विभाजन गर्ने दुराशय रहेको ठहर गरेको छ । बैठकले आज षडयन्त्रपूर्वक ढंगले विश्वासको मत लिन लागेको निष्कर्ष निकालेको हो ।

पार्टीको निर्णयबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘एमाले कतै मिलिहाल्छ कि भन्ने डरले वा एमालेलाई विभाजन गराउने प्रयासबाट आज आज विश्वासको मत लिने निर्णय गरेको देखिन्छ ।’

आफूहरू प्रतिपक्षमा बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘हामी प्रतिपक्षमा बस्छौं। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,’ नेता ज्ञवालीले भने। उनले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए। आजको स्थायी कमिटी बैठक प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्तावका सन्दर्भमा केन्द्रित थियो।

प्रवक्ता ज्ञवालीले माधव नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउने गरी आज बिहान भएको प्रयत्न असफल भएको पनि जानकारी दिए । ‘माधव नेपालले अरु कसैले विश्वासको मतको पक्ष मत नदिए पनि आफू एक्लैले भए पनि पक्षमा मत दिने अडान लिनु भयो । सिङ्गो एमालेले विपक्षमा मतदान गर्ने परिस्थिति बनेन,’ उनले भने, ‘उहाँले नयाँ कोर्समा अगाडि बढ्ने एक खालको निर्णय गरिसक्नुभएको रहेछ । वहाँ अब एमालेमा रहनुहुन्न ।’

नेता ज्ञवालीका अनुसार आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता भएको थियो। उक्त भेटमा नेता नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएको ज्ञवाली बताउँछन्। तर भंग भएको कार्यदलका सदस्यहरूले भने संस्थागत निर्णय गरेर जानुपर्ने बताएका थिए।

‘पार्टी एकतालाई निरन्तर प्रयास भएको छ। माधवकुमार नेपालले आफूले एक्लै भए पनि देउवाको प्रस्तावका पक्षमा मत हाल्ने कुरा गर्नुभयो,’ उनले भने। यसअघि एमालेका स्थायी कमिटी सदस्य एवम् एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलले बनाएको १० बुँदे प्रतिवेदनमा अहसमति जनाएको सार्वजनिक गरेका छन्।

पोखरेलले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै तीन महिनाको मेहेनत खेर गएको उल्लेख गरेका छन्।  ‘माधव नेपालले कार्यदललको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो’, पोखरेलले लेखेका छन्।

एमालेको कार्यदलमा रहेका सदस्यहरूले आइतबार बिहान माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमा भेट गरेका थिए। उक्त भेटमा शंकर पोखरेल पनि सहभागी थिए।

नेकपा एमालेमा माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई मिलाउन कार्यदल गठन भएको थियो। दश सदस्यीय कार्यदलले असार २७ गते मिलेर अघि बढ्ने सहमति गरेको थियो।

नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए। ‘हामीले हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पनि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न भनेका थियौं,’ बिष्टले भने,‘आज माधव कमरेडलाई पनि १० बुँदेको कार्यान्वयनमा सबै इमानदार हुनुपर्ने बतायौं।’

कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरू शनिबार ओलीलाई भेट्न उनको निवास बालकोट र आइतबार नेपाललाई भेट्न गएका थिए।