काठमाडौँ, असार २२ (ई–रैवार)
नेपाल आयल निगमले दुई साता नबित्दै इन्धनको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नघटाउने निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्याएको छ । डिजेल र मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।
गत जेठ २२ गते निगमले पेट्रोल, डिजेल र मटितेल तथा हवाई इन्धन (आन्तरिक) को साबिकको बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको थियो । निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ पुर्याएको छ । गत वर्ष लकडाउनमा निगमले उच्च नाफा राखेर तेल बचेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा नघटाउने निगमले बढ्दा भने घाटा भएको कारण देखाउँदै लगातार मूल्य बढाइरहेको छ ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ पुर्याएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय) को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याएको छ । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।



