काठमाडौँ, असार २२ (ई–रैवार)
नेकपा एमाले कार्यदलको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएको छ । एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको आज बसेको बैठकमा पार्टी भित्रको विवादबारे विषयगत छलफल सुरु भएको हो।
सिंहदरबारमा बसेको बैठकले बुधबार बिहान साढे ८ बजे पुन: बस्ने गरी टुंगिएको एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । ‘आजको बैठक सकियो । भोलि बिहान साढे ८ बजेदेखि फेरि बैठक बस्ने छ । सबै विवादका विषयमा छलफल भएको छ,’ नेता नेम्वाङले भने, ‘विवादका विषयमा कार्यदलका सबै सदस्यले आफ्ना धारणा राख्नुभएको छ ।’
सिंहदरबारमा दोस्रो चरणको दोस्रो दिन बसेको बैठक सकारात्मक ढंगले अघि बढेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए । ‘विवादित विषयहरुमा बुँदागत छलफल भएको छ ।’ पार्टीभित्र देखिएका विवादका सन्र्दभमा केन्द्रीत रहेर छलफलको सुरुवात भएको हो’, बैठकपछि विष्टले भने, ‘आजको बैठकमा सदस्यहरुले आ-आफ्ना धारणा राखेर छलफलको सुरुवात गर्नुभयो । यो छलफललाई निरन्तरता दिने निर्णय भएको छ ।’
नेता रघुजी पन्तले पनि विवादित विषयहरुमा बुँदागत छलफल भएको बताए । ‘बैठक जारी छ । विषयहरूमा बुँदागत छलफल भएको छ, छलफल सकारात्मक भएको छ’ पन्तले भने । उनले संयुक्त वक्तव्य दिने विषयमा भने प्रवेश गरिनसकेको बताए ।
नेता भीम रावलले पनि बैठकमा संगठनात्मक प्रणालीसँग सम्बन्धित विषयहरुमा छलफल भएको भन्दै बुधबार थप छलफल गरेर अगाडि बढ्ने बताए । ‘हिजोको बैठकमा विषय प्रवेश गरेका थिएनौं । आज हामीले विषयमा प्रवेश गरेका छौं । र छलफल गरेका छौं । कार्यदल सदस्यहरुबाट विविध विषय आएका छन् । ती विषयका आधारमा हामी थप छलफल गरेर अगाडि बढ्छौं ।’
बैठकमा सहभागी अर्का एक नेताले भने, ‘आजपनि पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भयो । विभिन्न विषयमा रहेका असहमतिमाथि खुला रुपमा छलफल भयो । तर कुनै निर्णय भएन ।’
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको सहमति अनुसार १० सदस्यीय कार्यदल बनेको थियो । गत आइतबार अध्यक्ष ओली र नेता भीम रावलबीचको भेटवार्तापछि कार्यदल व्युँत्याउने र कार्यदलमार्फत नै विवादको समाधान खोज्ने सहमतिपछि सोमबारबाट कार्यदल सक्रिय बनेको हो ।
सोमबार सिंहदरबारमा नै बसेको बैठकमा पछिल्लो घटनाक्रमको सामान्य समीक्षा भए पनि नियमित एजेण्डामा प्रवेश गरेको थिएन । नमिलेका सबै विषय कार्यदलले टुंग्याए त्यसमा आफ्नो सहमति हुने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् ।
सर्वोच्चको गत फागुन २३ गतेको आदेशपछि एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्नेमा अध्यक्ष ओलीले फागुन २८ मा आफुपक्षीय बैठक राखेर नेताहरुको जिम्मेवारी हेरफेर गर्नुका साथै विधान समेत संशोधन गरेका थिए । त्यसपछि खनाल नेपाल समुहले देशव्यापी समानान्तर समिति बनाएको थियो । अव त्यही समानान्तर समितिको व्यवस्थापन गर्न नेताहरुलाई सकस पर्ने देखिएको छ ।


