दार्चुला, साउन ११ (ई-रैवार)
दार्चुलाको लेकम गाउँपालिकाको एक वडामा तालाबन्दी गरेका छन् । स्थापना कालदेखिको खर्च विवरण सार्वजनिक गरिनुपर्ने लगायतका विभिन्न १० बुँदे मागहरू राख्दै असन्तुष्ट बनेका स्थानीयले वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन भएदेखि हालसम्मको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, राहत वितरणको विवरण सार्वजनिक गर्नुपर्ने, सम्पूर्ण योजनाको पारदर्शिता हुनुपर्ने, चमेलिया लिप्टीङ खानेपानी आयोजनाको दुई वर्षसम्म समिति गठन हुन नसक्नुको कारण खुलाउनु पर्ने, चमेलियाको डिपिआर नगरेरै बजेट भुक्तानी हुनुको कारण स्पष्ट पार्नुपर्ने लगायत मागहरू राखिएका छन् ।
यस्तै विपद् व्यवस्थापनको लागि उद्धार सामाग्रीहरू बाटै बाटो गैर कानुनी ढंगले वितरण गरिएको, सेवाग्राहीले समयमै सेवा नपाएको, नियमसंगत कागजात उपलब्ध गराउन अटेर गरेको, उपभोक्ता समितिमा प्रत्यक्ष उपयोग गर्ने व्यक्तिहरू नपरेको विषयमा जवाफ माग गरिएको छ।
आर्थिक वर्ष २०७३ देखि हालसम्मको सामाजिक सुरक्षा भत्ताको विवरण, कर्मचारी भर्ना प्रक्रिया तथा तलब भत्ताको स्रोत खुलाउनुपर्ने सहित दश बुँदे मागहरू राखिएको स्थानीय महेश विष्टले बताए। गत असार २१ गते विभिन्न मागहरू राखेर २४ गतेसम्म माग सम्बोधन गर्न विज्ञप्ति पत्र दिए पनि २४ गतेसम्म चित्तबुझ्दो जवाफ नआएको भन्दै पहिरो पटक तालाबन्दी गरिएको थियो ।
आर्थिक वर्षको अन्त्यमा भएकोले योजना कार्यक्रमको कामकाज प्रभावित हुने र तथ्याङ्क सार्वजनिक गर्न केही समय आवश्यक पर्ने भन्दै वडाले साउन ९ गतेसम्मको समय माग गरेपछि आन्दोलनरत पक्षले तालाबन्दी खुलाएको थियो । साउन ९ गते शुक्रवार समेत वडा कार्यालयको तर्फबाट उल्लेखित बुँदाहरूमा चित्तबुझ्दो जवाफ नपाएको र केही बुँदामा माग गरिएको तथ्याङ्क पूरा नखुलाएको भन्दै स्थानीयहरूले शुक्रवार राती साढे १० बजेपछि तालाबन्दी गरेको स्थानीय राजेश जोशीले बताए ।
वडा अध्यक्ष भवानसिंह धामीले भने वडासँग सम्बन्धित सबै विषयमा जानकारी सार्वजनिक गरिसकेको भए पनि गाउँपालिका र अरू निकायसग सरोकार भएका विषयहरूमा वडाले सबै कुरा जानकारी गराउन नसक्ने बताए। उनले गैर कानुनी ढंगले कुनै पनि काम नगरेको र कर्मचारीहरूलाई समेत आवश्यकताको आधारमा राखिएको स्पष्ट पारिएको छ। गैर कानुनी ढंगले कुनै पनि कर्मचारीलाई तलब भत्ता नदिइएको अध्यक्ष धामीको भनाई रहेको छ ।


