काठमाडौं, जेठ ७ (ई-रैवार)
नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अन्तिम पटक सुध्रिने मौका दिएको बताएका छन् । सांसद थापाले शुक्रबार साँझ ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई साथ दिँदा राष्ट्रपतिमा दागैदाग लागेकोले सच्चिने अन्तिम मौका रहेको बताएका हुन् ।
शुक्रबार साँझ सामाजिक संजालमार्फत थापाले प्रधानमन्त्री ओलीको गलत कदमलाई साथ दिएको भन्दै राष्ट्रपति भण्डारीमाथि पनि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘यो प्रस्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असङ्गत मात्र होइन अवैधानिक र अनैतिक छ। राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागै दाग छ। महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ । नभए भीरबाट खस्नेलाई राम राम ।’ नेता थापाको ट्वीटमा लेखिएको छ ।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीका लागि गरेको दाबीलाई असङ्गत मात्र होइन अवैधानिक र अनैतिक भएको प्रतिक्रिया दिएका छन् । विपक्षी गठबन्धनबाट नयाँ सरकार गठन प्रक्रियाका लागि १४९ सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपतिलाई बुझाउनु अघि नै ओलीले १५३ जना सांसदको समर्थनसहित सरकारको दाबी गरेपछि थापाले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
थापाले १५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छाडेको भनी प्रधानमन्त्री ओलीलाई प्रश्न समेत गरेका छन् । उनले लेखेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३)को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै ‘ विश्वासको मत लिन सक्दिन र पहिलाभन्दा तात्त्विक फरक छैन भनेर ७६(५)को सरकार गठनको ढोका खोल्ने,राष्ट्रपतिले, विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आव्हान गर्ने। अब फेरी जालझेल ।’
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न शुक्रबार ५ बजेसम्म दिएको समयावधिमा ओलीले १५३ सांसदको समर्थन रहेको भन्दै दाबी पेस गरेका छन् । उनले सिंगो एमाले र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको दाबी राष्ट्रपतिकहाँ पेस गरेका हुन् । विपक्षी गठबन्धनबाट १४९ सांसदसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा दाबी पेस गरिएको छ । देउवाको पक्षमा हस्ताक्षर गर्नेहरुमा कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र-बाबुराम) समूहका सांसदहरुले हस्ताक्षर गरेका छन् ।


