काठमाडौं, जेठ ७ (ई-रैवार)
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ । नेकपा एमालेले सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको हो ।
दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ । उनीहरुले प्रधानमन्त्रीका लागि शेरबहादुर देउबालाई पक्षमा गरेको हस्ताक्षरलाई मान्यता नदिन माग गरिएको छ ।
२६ जना सांसदहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएका छौं’ स्रोतले भन्यो ।
नेकपा एमाले र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाउँदै व्यक्तिगतरुपमा आएका हस्ताक्षरलाई मान्यता नदिन भनेको छन । “जसपा र एमालेको तर्फबाट विरोध र कारवाहीको पत्र आएको छ,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो,“उनीहरुले गरेको निर्णयलाई मान्यता नदिनू भन्ने छ । व्यक्तिगत निर्णय कारवाहीको विषय बन्छ ।
राष्ट्रपतिबाट दुवै पत्रको अध्ययन गरेर निर्णय लिइने उनले जानकारी गराए । उनका अनुसार दुवैतिर एउटै हस्ताक्षर भएकाले निर्णय गर्न समस्या देखिएको छ । अहिले राष्ट्रपतिबाट मान्यता दिन मिल्दैन ।”
शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएकोमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका थिए ।


