काठमाडौं,फागुन २६ (ई-रैवार)
नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्त ठाकुर र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटवार्ता भएको हो ।
सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । सत्ता सहकार्यका लागि छलफल चलिरहेका बेला जसपाका अध्यक्ष ठाकुरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
अध्यक्ष प्रचण्डसँग छलफलका लागि अध्यक्ष ठाकुरले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा लगेका थिए । उनीहरुका बीचमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल भएको पेरिसडाँडा स्रोतले जनाएको छ ।
यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । भने बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।


