काठमाडौं : नेपालमा आज थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनागरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयलका अनुसार मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ लाख १२ हजार ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९४ जना रहेका छन् । जसमध्ये ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८८ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार ३ लाख १६ हजार ७७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
खोप अभियान सुरु भएदेखि अहिलेसम्म २ करोड ५२ लाख ७५ हजार २५४ जनालाई खोप लगाइएको छ भने त्यसमध्ये १ करोड ७ लाख १० हजार ७२१ जनाले पूर्ण डोज खोप लगाएका छन् ।


