काठमाडौं, पुस १९ (ई-रैवार)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुन: बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाउने की सर्वोच्च अदालतको फैसला कुर्ने भन्ने विवाद चलिरहेको बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पुन: बस्ने भएको हो ।
बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ। यस अगाडि बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका थिए।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई असंवैधानिक भने पनि सडक संघर्षमा जाने/नजाने निर्णय गरिसकेको छैन। सभापति शेरबहादुर देउवाले पुनःस्थापनाको मुद्दा उठाएर सडकमा जान नसकिने स्पष्ट पारेका छन्। संसद विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेकाले आउने निर्णय नै कांग्रेसलाई मान्य हुने देउवाको भनाई छ।
यस अगाडि बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार कांग्रेसले सोमबार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपीशर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गरेको थियो।
यता वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर पार्टीले निर्णय गरिसकेकाले पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा जानुपर्ने बताउँदै आएका छन्। आजको बैठकमा पौडेलले दुइटा प्रस्ताव लैजाने तयारी गरेका छन्। उनले प्रतिनिधि सभा भंग गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएकोले सडकबाट चरणवद्ध आन्दोलन घोषणा गर्नुपर्ने र पार्टीको महाधिवेशनबारे छलफल गर्नुपर्ने एजेन्डा तय भएको पौडेलनिकट स्रोतले जनाएको छ।
कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार संसद् पुनःस्थापनाको विषय अदालतमा विचाराधीन भएकाले उक्त मुद्दामा छलफल नहुने बताएका छन्।


