सुदूरपश्चिम प्रदेशमा शंकास्पद व्यक्तिको नमूना संकलन सुस्त

सुदूरपश्चिम प्रदेशमा शंकास्पद व्यक्तिको नमूना संकलन सुस्त
Spread the love

सुदूरपश्चिम,मंसिर १६ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शंकास्पद व्यक्तिको नमूना संकलन गर्ने काममा कमी आएको छ। गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शंकास्पद २ हजार ३ सय ५१ जनाको नमूनामात्र संकलन हुन सकेको छ। नयाँ संकलित नमूनासमेत गएको हप्तामा २ हजार ३ सय ८८ नमूनाको परीक्षण हुँदा ३ सय ९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा यो अवधिमा थप ३ सय ९२ जनामा सङ्क्रमण देखिँदा ४ सय १३ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्। अहिलेसम्म नौ हजार ४ सय ६० घर फर्किएका छन्। संकलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ।

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए। “जाडो मौसममा ‘भाइरल इम्फेक्सन’को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ”, उनले भने,“पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ।”

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा नमूना संकलन गर्ने काममा कमी आएको जानकारी दिए। लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना संकलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना संकलनमा कमी आएको हुन सक्ने उनले बताए।

सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन। आजसम्म कैलालीमा १९, कञ्चनपुरमा पाँच, डडेल्धुरा र बझाङमा ३/३, अछाम, बाजुरा, दार्चुलामा २/२ र डोटी तथा बैतडीमा १/१ गरी जम्मा ३८ जनाको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका ७ जनाको सघन उपचार कक्षमा र २ जनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ। तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधाणको चहलपहल बढ्दा कोरोना फैलिने जोखिम थप बढेको स्वास्थ्यकर्मीको भनाइ छ। रासस