एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि, आगामी रणनीतिबारे छलफल हुने

एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि, आगामी रणनीतिबारे छलफल हुने
Spread the love

काठमाडौं, चैत्र ४ (ई-रैवार) 

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले आजदेखि काठमाडौँमा राष्ट्रिय भेला गर्दैछ । नेकपा एमालेको असन्तुष्ट वरिष्ठ नेता नेपाल र खनालको समूहले बुधबारदेखि ललितपुरमा ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गर्न लागेको हो ।

ललितपुरमा आज हुने राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट कार्यकर्ताको उपस्थिति रहने सो समूहले जनाएको छ । दुई दिनसम्म चल्ने कार्यकर्ता भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना गरिएको नेपाल र खनाल समूहले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले २८ गते गुट भेला गरेर पार्टीलाई विभाजनतिर धकेलको खनाल-नेपाल गुटको ठहर छ । यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला आयोजना हुन लागेको हो ।

भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको थियो ।

आज भेला बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । गत शनिबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी सदस्य र सांसदहरुको भेलाले चैत्र ४ र ५ गते ‘राष्ट्रिय कार्यकर्ता भेला’ आयोजना गर्ने निर्णय गरेको थियो ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्पर्क कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका सचिलाय सदस्यहरु, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरु गरि दुई हजारभन्दा बढीको सहभागिता रहने नेपाल समूहले जनाएको छ ।

“३ जेठ २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सम्पन्न एकीकरणलाई २३ फागुन २०७७ मा सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा (एमाले) लाई त्यस फैसलाअनुसार सञ्चालन गर्न आनाकानी गरिएको छ ।

नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्ताबेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना हो भन्ने कुरा स्पष्ट छ,” विज्ञप्तिमा भनिएको छ,” यति हुँदाहुँदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौं र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पुयाउन चाहन्छौं ।”