बैतडी, साउन २३ (ई-रैवार)
पहिरोमा पुरिएर बैतडीमा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका ४, बलालीका ४० वर्षीया पशुपति बोहरा र १२ वर्षीय उनका छोरा रिकेश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।
बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरभित्रै सुतिरहेका आमाछोराको मृत्यु भएको प्रवक्ता चन्दले बताए । १६ वर्षीया सुजिता र १२ वर्षीया सुनीता बोहरा भने भागेर ज्यान जोगाउन सफल भएका छन् । माथिबाट खसेको पहिरोले घर पूर्ण रूपमा पुरिएको स्थानीय बासिन्दा महेश पन्तले जानकारी दिए ।
घरभित्र पुरिएका दुवैको शव निकालेर परीक्षणका लागि गोकुलेश्वर अस्पताल ल्याइन लागेको प्रहरीले जनाएको छ । घरमाथिबाट पहिरो खस्दा गोठमा बाँधेका गाईगोरुलाई समेत चोट लागेको छ ।
मृतक पशुपतिका श्रीमान् रोजगारीका लागि भारतको पिथौरगढमा रहेका र लकडाउनका कारण घर आउन पाएका छैनन् । घरमाथिबाट खसेको पहिरोले आमाछोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको स्थानीय पन्तले बताए । बैतडीका आठ स्थानीय तहमा पहिरोको उच्च जोखिम रहृको जनाईएको छ ।


