धनगढी असार २४(ई-रैवार)
प्रतिपक्षी दलहरुको विरोधका बाबजुत सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ। प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुको चर्को नाराबाजीका बीच प्रदेश सभामा बहुमतबाट बजेट पारित गरिएको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले यही असार १ गते प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाखको बजेट पेश गरेका थिए ।
यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच नै आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरिएको थियो।
प्रतिपक्षी दलले भने प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गर्दै बजेट पेश भएदेखि नै सभामा अवरोध सिर्जना गर्दै आएका थिए।
सभामुखले प्रतिपक्षी दलले सभामा अवरोध कायमै राख्ने देखेपछि पेलेरै बजेटमाथिको छलफल अगाडी बढाएका थिए। बजेट पारित भएसँगै प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
सभामुख अर्जुनबहादुर थापाले अर्को सूचना जारी नभए सम्मका लागि बैठक स्थगीत गरेका हुन्।
प्रतिपक्षीलाई पेलेरै बजेट पारित गर्दै सुदूरपश्चिमको प्रदेश सभा अनिश्चित कालका लागि स्थगित


